किसानलाई समयमै भुक्तानीको सुनिश्चितता
काठमाडौं । सरकारले कृषि उपज खरिद गरेपछि किसानलाई अधिकतम २५ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गरेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयका अनुसार कृषि उपज खरिद गर्ने व्यापारी, संघसंस्था, निजी फर्म, उद्यमी, सहकारी तथा सरकारी र निजी कम्पनीहरूले अब किसानसँग गरिएको खरिदको भुक्तानी २५ दिनभित्रै सम्पन्न गर्नुपर्नेछ । यो व्यवस्था सरकारको ‘शासकीय सुधारको १०० बुँदे कार्यसूची’ अन्तर्गत किसानलाई समयमै उचित मूल्य दिलाउने उद्देश्यले लागू गरिएको हो ।
नयाँ प्रावधानअनुसार कृषि उपज खरिदमा हुने उधारो कारोबार २५ दिनभन्दा बढी समयसम्म लम्ब्याउन पाइने छैन । तोकिएको अवधिभित्र भुक्तानी नगरेमा सम्बन्धित खरिदकर्ताले बाँकी रकममा ब्याजसमेत किसानलाई उपलब्ध गराउनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न सबै सरोकारवालालाई निर्देशन दिएको छ । कृषि क्षेत्रमा लामो समयदेखि देखिँदै आएको भुक्तानी ढिलासुस्तीलाई अन्त्य गर्दै किसानलाई आर्थिक रूपमा सुरक्षित बनाउने उद्देश्य यस कदमले बोकेको जनाइएको छ ।
साथै, कार्यान्वयनका क्रममा कुनै समस्या उत्पन्न भएमा वा तोकिएको समयभित्र भुक्तानी नपाएको अवस्थामा किसानहरूले आवश्यक प्रमाणसहित मन्त्रालयमा सिधै सम्पर्क गरी गुनासो दर्ता गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
सरकारको यो निर्णयले कृषि क्षेत्रलाई थप व्यवस्थित बनाउँदै किसानको हकहित संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0