काठमाडौँ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। वैशाख ३ गतेदेखि बिक्री खुला गरिएको उक्त आईपीओमा लगानी गर्न इच्छुकले आज वैशाख ८ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको कोटाअन्तर्गतको शेयर बाँडफाँट गरिसकेको छ। कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजी रहेको कम्पनीले २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता, कर्मचारीका लागि १ लाख ७१ हजार ६०० कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख १४ हजार ५०० कित्ता शेयर छुट्याइएको थियो, जुन यसअघि नै सुरक्षित भइसकेको छ।
दोस्रो चरणअन्तर्गत बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो। यसको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ रहेको छ। लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सक्नेछन्।
यस आईपीओमा सहभागी हुन इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आज अन्तिम दिन भएकाले समयमै आवेदन दिन कम्पनीले आग्रह गरेको छ।