बीमा क्षेत्रमा मजबुतीको नयाँ उचाइ
काठमाडौँ । नेपाली बीमा बजार अहिले ऐतिहासिक रूपान्तरण र सुदृढीकरणको चरणमा प्रवेश गरेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणले बीमा कम्पनीहरूको वित्तीय अवस्था उल्लेखनीय रूपमा बलियो बन्दै गएको देखाएको छ।
‘बीमा ऐन २०७९’ को कार्यान्वयन तथा चुक्ता पूँजी वृद्धि सम्बन्धी कडा नीतिका कारण जीवन, निर्जीवन र लघुबीमा कम्पनीहरूको वित्तीय संरचनामा व्यापक परिवर्तन आएको हो। यसले समग्र बीमा क्षेत्रलाई दीर्घकालीन रूपमा स्थायित्वतर्फ उन्मुख गराएको छ।
प्राधिकरणका अनुसार जीवन बीमा क्षेत्रमा १४ वटा कम्पनीहरू सक्रिय छन्। यसमध्ये नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँ चुक्ता पूँजीसहित अग्रस्थानमा रहेको छ। हिमालयन लाइफको ८ अर्ब १४ करोड ३२ लाख रुपैयाँ र नेशनल लाइफको ५ अर्ब ६१ करोड १६ लाख ४९ हजार रुपैयाँ पूँजीले बजारमा प्रतिस्पर्धा तीव्र बनाएको छ।
सूर्यज्योति लाइफ, सानिमा रिलायन्स र प्रभु महालक्ष्मी जस्ता कम्पनीहरूले पनि ५ अर्ब रुपैयाँ नजिक वा सोभन्दा माथिको पूँजी पुर्याउने प्रयास गरिरहेका छन्, जसले नयाँ कम्पनीहरू समेत वित्तीय रूपमा सुदृढ बन्ने दिशामा अघि बढेको संकेत गर्छ। सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको चुक्ता पूँजी अपेक्षाकृत कम देखिए पनि यसको जगेडा कोष र प्राविधिक पक्षहरू फरक प्रकृतिका छन्।
निर्जीवन बीमा क्षेत्रमा पनि प्रतिस्पर्धा सशक्त बनेको छ। १४ वटा कम्पनीमध्ये शिखर इन्स्योरेन्स २ अर्ब ९२ करोड ३० लाख ९९ हजार रुपैयाँ पूँजीसहित अगाडि देखिएको छ। सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पनि उल्लेखनीय पूँजीसहित बजारमा आफ्नो प्रभाव कायम राखेका छन्।
विदेशी बीमा कम्पनीका शाखाहरू जस्तै दि ओरियन्टल र नेशनल इन्स्योरेन्सले ‘एसाइन्ड क्यापिटल’ मार्फत उपस्थिति जनाइरहेका छन्। साथै, पछिल्लो समय भएका मर्जरहरूले बजारलाई थप सुदृढ बनाएको छ। आइजीआई प्रुडेन्सियल र युनाइटेड अजोडको पूँजी वृद्धि यसका उदाहरण हुन्।
पुनर्बीमा क्षेत्रमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रको हिमालयन री इन्स्योरेन्स सक्रिय छन्। यी दुई कम्पनीको कुल पूँजी २४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जसले विदेशी मुद्रा बाहिरिने दर घटाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यस्तै, बीमाको पहुँच तल्लो तहसम्म पुर्याउने उद्देश्यले स्थापना भएका लघुबीमा कम्पनीहरू पनि विस्तार हुँदैछन्। हाल सञ्चालनमा रहेका ७ वटा लघुबीमा कम्पनीमध्ये धेरैको चुक्ता पूँजी ५२ करोड ५० लाखदेखि ७५ करोड रुपैयाँसम्म रहेको छ। नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफले ७५–७५ करोड रुपैयाँ पूँजी पुर्याएका छन् भने अन्य कम्पनीहरूले पनि सन्तुलित रूपमा विस्तार गरिरहेका छन्।
यी लघुबीमा कम्पनीहरूले भरतपुर, विराटनगर, धनगढी, सुर्खेत र पोखरा जस्ता सहरबाट सेवा सुरु गर्नुले बीमा क्षेत्रको विकेन्द्रीकरणलाई बल दिएको छ।
समग्रमा, कडा नियमन, पूँजी वृद्धिको दबाब र संरचनात्मक सुधारका कारण नेपाली बीमा बजार अहिले स्थायित्व, विश्वसनीयता र विस्तारको नयाँ चरणतर्फ अघि बढिरहेको देखिन्छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0