ढुवानी लागतले खाद्यान्न बजारमा चाप
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध आउँदा नेपालमा ढुवानी लागतदेखि खाद्यान्न प्याकिङ गर्ने बोराको मूल्यसम्म वृद्धि भएको व्यवसायीहरूले बताएका छन्।
नेपाल चामल तेल दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालका अनुसार बोराको मूल्य हाल दोब्बरले बढेको छ। उद्योगहरूमा कच्चा पदार्थको आपूर्ति भइरहे पनि ढुवानी भाडा महँगो हुँदा उत्पादन लागत बढेको उनले बताए।
उनका अनुसार चामलको मूल्य गुणस्तरअनुसार करिब ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। उद्योग तहमा प्रति बोरा करिब ७० रुपैयाँसम्म मूल्य बढेको छ, जसको असर उपभोक्तासम्म पुगेको छ। पहिले २० देखि २५ रुपैयाँमा पाइने बोरा अहिले ४५ देखि ५० रुपैयाँसम्म पुगेको छ भने मागअनुसार आपूर्ति पनि कठिन भएको छ।
ढुवानी लागत बढ्दा तराईबाट काठमाडौँ उपत्यकासम्म खाद्यान्न पुर्याउन अझ महँगो भएको व्यवसायीहरूको भनाइ छ। विशेषगरी धान तथा अन्य कच्चा पदार्थ ढुवानीमा इन्धनको मूल्यवृद्धिको प्रभाव स्पष्ट देखिएको छ।
राधा कृष्ण मिलका सञ्चालक विभोर अग्रवालका अनुसार प्लास्टिक र बोराको मूल्य वृद्धिले पनि चामल महँगिन थालेको छ। उनका अनुसार पहिले ३२ रुपैयाँ पर्ने बोरा अहिले ४५ रुपैयाँभन्दा बढीमा खरिद गर्नुपर्ने अवस्था आएको छ।
त्यसैगरी भारतबाट आयात हुने धानको मूल्य प्रति क्विन्टल करिब २०० भारुले बढेको छ। विराटनगरबाट काठमाडौँसम्म ढुवानी खर्च पनि प्रति बोरा ९० रुपैयाँबाट बढेर १२० रुपैयाँसम्म पुगेको छ।
ढुवानी, कच्चा पदार्थ र प्याकेजिङ लागत बढेसँगै चामलको मूल्य बोरामा करिब १५० देखि २०० रुपैयाँसम्म बढेको उद्योगीहरूको भनाइ छ। हाल बजारमा जिरा मसिनो चामलको मूल्य प्रति बोरा करिब २१०० रुपैयाँ पुगेको छ।
व्यवसायीहरूका अनुसार बजारमा माग कमजोर भएकाले केही दालहरूको मूल्य स्थिर वा घट्ने क्रममा रहे पनि समग्र खाद्यान्न आपूर्ति श्रृंखलामा लागत दबाब बढिरहेको छ।
यस अवस्थाले आगामी दिनमा खाद्य वस्तुको मूल्य स्थिरता कायम गर्न ढुवानी र आपूर्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0