नबिल बैंकले ग्रामीण उद्यमशीलता तालिम विस्तार गर्‍यो

Apr 23, 2026 - 12:26
 0  0
नबिल बैंकले ग्रामीण उद्यमशीलता तालिम विस्तार गर्‍यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गर्दै मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ।

जुम्लाको सिँजा गाउँपालिकाबाट यही वैशाख ९ गतेदेखि सुरु भएको यो तालिम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा विस्तार गरिने बैंकले जनाएको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहसँगको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको छ।

कृषिमा आधारित व्यवसायमा संलग्न तथा गर्न चाहने करिब पाँच सय व्यक्तिलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो। बैंकका अनुसार यस तालिमले ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले तालिममा सहभागीलाई बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा तथा लगानीका विभिन्न विकल्पबारे प्रयोगात्मक ज्ञान प्रदान गरिने बताए। उनका अनुसार कार्यक्रमको उद्देश्य वित्तीय साक्षरतामा सशक्त बनाउने, बेरोजगारी घटाउने, नयाँ व्यवसाय गर्न प्रोत्साहन गर्ने र उद्यमशीलता विकासमार्फत दिगो आर्थिक वृद्धि प्रवर्द्धन गर्नु हो।

बैंकले दिगो बैंकिङ अवधारणाअन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत ग्रामीण क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरेको जनाएको छ। सहभागीहरूको रुचिअनुसार बाख्रापालन, बंगुरपालन, भैंसीपालन, च्याउ खेती र तरकारी खेतीजस्ता विषयमा प्राविधिक ज्ञान तथा व्यवसायिक सीप प्रदान गरिनेछ।

त्यसैगरी, व्यवसाय पहिचान, बजार व्यवस्थापन र वित्तीय योजना निर्माणसम्बन्धी ज्ञान पनि दिइनेछ। यसले ग्रामीण क्षेत्रमा दिगो र वातावरणमैत्री लगानीलाई प्रवर्द्धन गर्ने बैंकको विश्वास छ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो। बैंकले सामाजिक उद्यमशीलता, रोजगारी सृजना र विकासमार्फत दिगो आर्थिक वृद्धिमा योगदान पुर्‍याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0