काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक समितिमा हेरफेर गर्दै नयाँ कार्यसमिति पुनर्गठन गरेको छ। कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले तीन जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै नयाँ नियुक्ति गरेको हो।
राजीनामा दिने सञ्चालकहरूमा संस्थापक समूह ‘क’ बाट अमित मोर तथा समूह ‘ख’ बाट राजीव मोर र शुभेच्छा खरेल रहेका छन्। उनीहरूको राजीनामापछि रिक्त भएको पदमा नयाँ सदस्यहरू नियुक्त गरिएको कम्पनीले जनाएको छ।
समूह ‘क’ अन्तर्गत कालिका फिन्कोर्पको तर्फबाट दिपककुमार मिश्रलाई नयाँ सञ्चालकका रूपमा नियुक्त गरिएको छ। त्यस्तै, स्वतन्त्र सञ्चालकको रूपमा आशीषचन्द्र न्यौपानेलाई जिम्मेवारी दिइएको छ।
कम्पनीका अनुसार नवनियुक्त दुवै सञ्चालकहरूको कार्यकाल आगामी वार्षिक साधारणसभासम्मका लागि कायम रहनेछ। नयाँ नेतृत्वसँगै कम्पनीको रणनीतिक निर्णय तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।