काठमाडौँको वायु सुधारतर्फ चेतावनी

Apr 23, 2026 - 12:15
 0  0
काठमाडौँको वायु सुधारतर्फ चेतावनी

काठमाडौँ । नेपालको राजधानी काठमाडौँ पुनः विश्वकै प्रदूषित सहरहरूको अग्रपंक्तिमा देखिएको छ। बिहीबार बिहानको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) अनुसार काठमाडौँ २१६ अङ्कसहित विश्वको दोस्रो धेरै प्रदूषित सहर बनेको छ।

अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’ को तथ्याङ्कअनुसार काठमाडौँको वायु अवस्था ‘अति अस्वस्थकर’ श्रेणीमा पुगेको छ, जसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको छ।

विश्व सूचीमा पाकिस्तानको लाहोर ३८२ एक्यूआईसहित पहिलो स्थानमा रहेको छ, जुन ‘खतरनाक’ स्तरमा पुगेको छ। त्यसपछि काठमाडौँ दोस्रो स्थानमा छ। थाइल्याण्डको चियाङ माई १६५ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ भने चीनको बेइजिङ र इन्डोनेसियाको जकार्ता क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।

त्यसैगरी अल्जेरियाको अल्जियर्स, बंगलादेशको ढाका, भारतको कोलकाता र दिल्ली तथा इथियोपियाको अदिस अबाबा पनि उच्च प्रदूषित सहरहरूको सूचीमा परेका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार २०१ देखि ३०० एक्यूआईलाई अति अस्वस्थकर मानिन्छ भने ३०० माथिको अवस्था खतरनाक मानिन्छ।

वातावरण विभागका अनुसार काठमाडौँ उपत्यका मात्र नभई भक्तपुर, दाङको देउखुरी र सुर्खेत क्षेत्रमा पनि वायुको अवस्था चिन्ताजनक बनेको छ। वायुमण्डलमा धुलो कण र धुवाँको मात्रा बढ्दै गएपछि स्वास्थ्य जोखिम बढेको जनाइएको छ।

जनस्वास्थ्य विज्ञहरूले सर्वसाधारणलाई मास्कको अनिवार्य प्रयोग गर्न, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वासका बिरामीलाई सतर्क रहन आग्रह गरेका छन्।

हालको अवस्थाले वायु प्रदूषण नियन्त्रण र वातावरण संरक्षणमा थप प्रभावकारी कदम आवश्यक रहेको स्पष्ट संकेत दिएको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0