वीरगन्ज नाकामा आयात विस्तार
वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वस्तु तथा सामान आयात बढ्दै गएको छ । यस अवधिमा कुल ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन् ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् करिब १३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको नौ महिनामा ६ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका थिए ।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु वर्षमा यो नाकाबाट आयात गतिविधि उल्लेख्य रूपमा बढेको देखिएको छ ।
आयातित वस्तुहरूमध्ये पेट्रोलियम पदार्थ सबैभन्दा ठूलो हिस्सा रहेको छ । चालु आवको नौ महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयात १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको १ खर्ब ४० अर्ब १० करोड रुपैयाँभन्दा बढी हो ।
त्यस्तै, फलाम तथा फलामजन्य वस्तुहरूको आयात ६२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ भने गत वर्ष ५५ अर्ब ९ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
भटमासको कच्चा तेल आयात पनि उल्लेख्य रूपमा बढ्दै ५० अर्ब ४० करोड रुपैयाँ पुगेको छ, जबकि गत वर्ष यो ३८ अर्ब १५ करोड रुपैयाँमा सीमित थियो ।
मेसिनरी तथा पार्टपुर्जा आयात ४९ अर्ब १३ करोड रुपैयाँ र इलेक्ट्रिक मेसिनरी उपकरण तथा पार्टपुर्जा आयात ३४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यी दुवै वस्तुको आयात पनि गत वर्षको तुलनामा वृद्धि भएको देखिएको छ ।
आयातसँगै राजस्व संकलन पनि बढेको छ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
समग्र तथ्यांकले आयात र राजस्व दुवैमा वृद्धि देखिए पनि बाह्य निर्भरता उच्च रहेको संकेत गरेको छ ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0