सुशासनतर्फको कडाइ

Apr 22, 2026 - 12:01
 0  0
सुशासनतर्फको कडाइ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार निर्माण सेवाका सञ्चालक तथा सम्बन्धित संयुक्त उपक्रमहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको खातामा रकम जम्मा गरिएको पाइएको छ । सोही रकमबाट घुस लिई संयुक्त रूपमा सम्पत्ति खरिद गरिएको समेत अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्माण सेवा प्रालिले विभागसँग विभिन्न ठेक्का सम्झौतामा सहभागी भई कुल ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरका परियोजनामा संलग्न भएको थियो । ती परियोजनासँग सम्बन्धित रूपमा करिब ४ करोड २२ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ बराबरको घुस लिइएको आरोप लगाइएको छ ।

अनुसन्धानमा भ्रष्टाचारबाट आर्जित रकम प्रयोग गरी जग्गा तथा सुन खरिद गरिएको, साथै विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरिएको पाइएको आयोगले जनाएको छ । गैरकानुनी रूपमा आर्जित सम्पत्तिलाई लुकाउने, रूपान्तरण गर्ने तथा हस्तान्तरण गर्ने कार्य भएको ठहर गर्दै आयोगले मुद्दा अघि बढाएको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै प्रतिवादीविरुद्ध समान रूपमा ४ करोड २२ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । यस कदमलाई सार्वजनिक क्षेत्रमा पारदर्शिता र सुशासन सुदृढ गर्ने दिशातर्फको महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0