चांगानको विश्वस्तरीय विस्तार योजना
काठमाडौँ । चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सूचीमा स्थान बनाउने र आरएमबी ६०० अर्ब राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ व्यापक विकास रणनीति सार्वजनिक गरेको छ।
“१+४+४+५” फ्रेमवर्क नाम दिइएको यो रणनीति सन् २०२६ अप्रिल २१ मा चीनको चोङकिङमा आयोजित ग्लोबल स्ट्राटेजी लञ्च तथा ग्लोबल पार्टनर सम्मेलनमा सार्वजनिक गरिएको हो। कार्यक्रममा अटो उद्योगका करिब ७०० प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कम्पनीले आन्तरिक रूपमा विकसित प्रविधिमा आधारित विश्वस्तरीय अटोमोबाइल कम्पनी निर्माण गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत सवारीसाधन, कम्पोनेन्ट, सेवा र नयाँ पुस्ताका उद्योगहरू गरी चार प्रमुख व्यवसायिक क्षेत्रमा केन्द्रित हुने जनाएको छ।
चांगानले स्मार्ट, हरित, विश्वव्यापी र कनेक्टेड प्रणालीतर्फ चार प्रमुख रूपान्तरण अघि बढाउने योजना बनाएको छ। साथै, सन् २०३० सम्म विद्युतीय सवारी बिक्री, विदेश निर्यात, कुल आम्दानी, नाफा र ब्रान्ड मूल्यलगायत पाँच प्रमुख सूचक दोब्बर बनाउने लक्ष्य राखिएको छ।
कम्पनीका अध्यक्ष झु हुआरोङले चांगान परिवर्तन र अवसरको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै उद्योग साझेदारहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रणनीतिअन्तर्गत स्मार्ट सवारी विकास, स्वच्छ पावरट्रेन, बिक्री विस्तार, सुदृढ व्यवसायिक इकोसिस्टम, प्रभावकारी विश्वव्यापी व्यवस्थापन र कम्पनी मूल्य अभिवृद्धि जस्ता छ प्रमुख छलाङहरू तय गरिएको छ।
चांगानले तीन प्रमुख योजनामार्फत विश्व बजार विस्तारलाई तीव्र बनाइरहेको छ। ग्रीन प्लान अन्तर्गत विद्युतीय प्रविधि विकास र कार्बन उत्सर्जन घटाउने लक्ष्य राखिएको छ। इन्टेलिजेन्ट प्लान सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभवमा केन्द्रित छ भने भास्ट ओसियन प्लान अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड विस्तारमा केन्द्रित छ।
कम्पनीले सन् २०२६ मार्चसम्म पहिलो पटक एक महिनामा १ लाखभन्दा बढी सवारीसाधन विदेशमा बिक्री गरेको जनाएको छ।
सन् २०२५ मा चांगानले २.९१३ मिलियन सवारीसाधन बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ८.५ प्रतिशतले वृद्धि हो। यसमध्ये ११ लाखभन्दा बढी विद्युतीय सवारी रहेका छन्।
हाल चांगान ११८ देशमा १,१०० भन्दा बढी आउटलेटमार्फत सक्रिय छ। कम्पनीका २४ हजारभन्दा बढी अनुसन्धानकर्ता संलग्न छन् भने हालसम्म करिब २१ हजार पेटेन्ट दर्ता गरिसकिएको छ।
यस रणनीतिसँगै चांगानले विश्व अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0