म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ। सुरुङ, बाँध र विद्युत्गृहसहितका भौतिक संरचना निर्माण तथा उपकरण जडान अन्तिम चरणमा पुगेसँगै आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आगामी जेठभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। “सिभिल, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल संरचनाको निर्माण र उपकरण जडान सम्पन्न भई फिनिसिङको काम भइरहेको छ,” उनले भने, “सुरुङका चारवटा प्रवेशमार्ग बन्द गरेपछि पानी भरेर परीक्षण गर्ने तयारीमा छौँ।”
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६) मा रु छ अर्ब लागतमा ४५ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरेको थियो। तर विभिन्न कारणले समयमै काम सम्पन्न हुन नसक्दा सन् २०२२ फेब्रुअरीमा पहिलो र दोस्रो पटक तथा २०२५ नोभेम्बरसम्म तेस्रोपटक म्याद थप गरिएको थियो। हाल चौथोपटक थपिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र रूपमा अघि बढाइएको केसीले बताए।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध निर्माण सम्पन्न भइसकेको छ भने छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी निर्माण पनि सकिएको छ। तिल्केनीचौरस्थित विद्युत्गृह निर्माण पूरा भई रङरोगनको काम भइरहेको छ।
आयोजनामा २० मेगावाट क्षमताको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका उपकरण जडान अन्तिम चरणमा पुगेको छ। आयोजना सम्पन्न भएपछि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ।
यस आयोजनाले २०७५ चैतमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको थियो। आयोजना सम्पन्न भएसँगै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् थप भई ऊर्जा आपूर्तिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।