ईभी बजारमा पुनः सन्तुलन देखिँदै
काठमाडौँ । नेपालमा विद्युतीय गाडी (ईभी) आयातमा गिरावट देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा विद्युतीय कार आयात झन्डै १० प्रतिशतले घटेको छ।
गत वर्ष सोही अवधिमा ७ हजार ९६७ युनिट ईभी कार आयात भएकोमा चालु वर्ष यो संख्या घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ। यस अवधिमा करिब १६ अर्ब ६६ करोड रुपैयाँ बराबरका विद्युतीय कार आयात भएका छन्, जसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
भित्रिएका ईभीमध्ये ५० किलोवाटसम्मका २ हजार ५०६ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ४ हजार ८३ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ५७४ युनिट र २०१ किलोवाटभन्दा माथिका ८ युनिट रहेका छन्।
ईभी आयात घटेसँगै पेट्रोलबाट चल्ने गाडीको आयात भने उल्लेख्य रूपमा बढेको देखिएको छ। चालु वर्षको ९ महिनामा ४ हजार १४० युनिट पेट्रोल कार आयात भएका छन्, जुन गत वर्षको तुलनामा ५०.९९ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा २ हजार ७४२ युनिट पेट्रोल कार मात्र आयात भएका थिए।
विश्लेषकहरूका अनुसार पछिल्लो समय बजारमा आइस (इन्धन) गाडीप्रतिको माग बढ्दै गएको छ। इन्धन आपूर्ति र मूल्य सम्बन्धी अनिश्चितताबीच पेट्रोल गाडीको आयात वृद्धि भएको हो।
ईभीको तुलनामा पेट्रोल गाडीको बढ्दो आयातले यातायात संरचना र ऊर्जा उपयोगको दीर्घकालीन सन्तुलनमा चुनौती थपिएको देखिन्छ। यद्यपि, सरकारको राजस्व संकलनमा ईभी आयातले उल्लेख्य योगदान दिइरहेको छ।
समग्रमा, नेपालमा विद्युतीय र इन्धन गाडीबीचको बजार सन्तुलन फेरिँदै गएको संकेत देखिएको छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0