नेपाल–चीन सहकार्य अझ मजबुत बन्दै

Apr 23, 2026 - 13:31
 0  1
नेपाल–चीन सहकार्य अझ मजबुत बन्दै

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी देशविरुद्ध प्रयोग हुन नदिने स्पष्ट गर्दै चीनसँगको मैत्रीपूर्ण सम्बन्धलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

चिनियाँ दूतावासद्वारा आयोजित एक सांस्कृतिक कार्यक्रममा बोल्दै उनले नेपाललाई सामाजिक र आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा चीनप्रति आभार व्यक्त गरे। नेपाल र चीनबीच लामो ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले आगामी दिनमा यो सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

अर्थमन्त्री वाग्लेले चीनले हासिल गरेको तीव्र आर्थिक विकास र प्रगतिबाट नेपालले महत्वपूर्ण सिकाइ लिन सक्ने बताए। उनले चीनको सहयोगमा नेपालमा सडक, अस्पताल र शैक्षिक संस्थाजस्ता पूर्वाधार विकासका परियोजनाहरू अघि बढिरहेको जानकारी दिए।

उनका अनुसार बैंकिङ, कृषि, पर्यटन र कनेक्टिभिटी जस्ता क्षेत्रमा दुई देशबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भइरहेको छ।

डा. वाग्लेले वर्तमान सरकार सुशासन, पारदर्शिता र आर्थिक समृद्धिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै विश्वसनीय अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्दै मुलुकको समग्र विकासलाई अघि बढाउने लक्ष्य रहेको बताए।

यस अवसरमा उनले नेपाल–चीन सम्बन्धलाई दीर्घकालीन, स्थिर र पारस्परिक लाभदायी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्।

What's Your Reaction?

Like Like 1
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0