स्टिल उद्योगमा सुधारको संकेत

Apr 22, 2026 - 12:40
 0  1
स्टिल उद्योगमा सुधारको संकेत

काठमाडौं । नेपालमा स्टिलजन्य तथा निर्माण सामग्री उत्पादन र बिक्री गर्दै आएको जगदम्बा इन्टरप्राइजेज प्रालिको व्यावसायिक प्रदर्शन पछिल्ला तीन वर्षमा क्रमिक रूपमा घट्दै गएको देखिएको छ ।

निर्माण क्षेत्रमा देखिएको सुस्तता र बजार मागमा आएको कमीका कारण कम्पनीको कुल सञ्चालन आम्दानी निरन्तर ओरालो लागेको हो । सन् २०२३ मा १५ अर्ब ४६ करोड रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२४ मा ४.९८ प्रतिशतले घटेर १४ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको थियो । त्यस्तै सन् २०२५ मा पनि ०.६५ प्रतिशतले थप घट्दै १४ अर्ब ५९ करोड ४० लाख रुपैयाँमा झरेको छ । यससँगै तीन वर्षको अवधिमा कुल आम्दानीमा करिब ५.६० प्रतिशतको गिरावट देखिएको छ ।

नाफा दरमा पनि गिरावट आएको छ । सन् २०२४ मा ९.०५ प्रतिशत रहेको सञ्चालन नाफा दर सन् २०२५ मा घटेर ६.४२ प्रतिशतमा सीमित भएको छ । कम्पनीको ब्याज भुक्तानी क्षमता पनि १.३५ गुणाबाट घटेर १.३२ गुणा पुगेको छ ।

ऋण संरचनामा भने उच्च दबाब देखिएको छ । कम्पनीको ऋण र पुँजी अनुपात ४.६४ गुणा रहेको छ, जुन नयाँ प्लान्ट विस्तारका लागि लिइएको ऋणका कारण भएको हो । त्यस्तै, कुल ऋण र नगद प्रवाह अनुपात सन् २०२४ मा ३४.७२ गुणा रहेकोमा सन् २०२५ मा बढेर ५२.२७ गुणा पुगेको छ, जसले ऋण व्यवस्थापनमा चुनौती बढाएको संकेत गर्छ ।

वित्तीय दबाबका बीच केयर रेटिङ्स नेपालले कम्पनीलाई दीर्घकालीन कर्जाका लागि १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ बराबरको ‘केयर एनपी बीबी’ रेटिङ र १३ अर्ब ९२ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि ‘केयर एनपी ए ४ प्लस’ रेटिङ प्रदान गरेको छ ।

कच्चा पदार्थ आयातमा विदेशी विनिमयको उतारचढावका कारण सन् २०२५ मा कम्पनीले ३ करोड ४० लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । बजारमा देखिएको सुस्त माग, उच्च कार्यशील पुँजी आवश्यकता र बढ्दो लागत कम्पनीका प्रमुख चुनौती बनेका छन् ।

यद्यपि, कम्पनीले सञ्चालनमा ल्याएको नयाँ उत्पादन प्रणालीले आगामी दिनमा लागत घटाउन र नाफा सुधार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । कम्पनीले टीएमटी डन्डी, एमएस पाइप, जस्तापाता पाइप, शटर सामग्री, प्रिफेब्रिकेटेड संरचना तथा स्टिल पोलजस्ता उत्पादन गर्दै आएको छ ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0