निर्यातमा नयाँ उचाइ
काठमाडौं । नेपालको वैदेशिक व्यापारमा निर्याततर्फ केही सकारात्मक संकेत देखिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ९ महिनाको तथ्यांकअनुसार हस्तनिर्मित गलैँचा, अलैँची, जुट तथा अन्य उत्पादनहरूले अर्बौँ रुपैयाँको वैदेशिक मुद्रा भित्र्याएका छन् ।
विभागका अनुसार यस अवधिमा टप १० निर्यात वस्तुहरूमा नेपाली पहिचान बोकेको ऊनी गलैँचा र पहाडी क्षेत्रको प्रमुख नगदे बाली अलैँचीले मात्रै झन्डै १६ अर्ब रुपैयाँ बराबरको निर्यात योगदान दिएका छन् । गलैँचाबाट ६ अर्ब ५३ करोड ९६ लाख ४८ हजार रुपैयाँ बराबरको २ लाख ४५ हजार ६६१ वर्गमिटर उत्पादन निर्यात भएको छ ।
त्यसैगरी अलैँचीको निर्यात ९ अर्ब ४९ करोड ६१ लाख ४५ हजार रुपैयाँ बराबर रहेको छ । कुल ४६ लाख ५ हजार १५० किलो अलैँची भारत लगायत तेस्रो मुलुकमा निर्यात भएको विभागले जनाएको छ । कच्चा अवस्थामै ठूलो परिमाणमा अलैँची बाहिरिँदा किसान र व्यवसायी दुवैमा उत्साह देखिएको छ ।
यता, नेपालबाट निर्यात हुने वस्तुहरूको सूचीमा भटमासको तेल सबैभन्दा माथि देखिए पनि यसको मूल्य अभिवृद्धि न्यून रहेको छ । ९ महिनामा मात्रै ७५ अर्ब ७७ करोड ४१ लाख ५१ हजार रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । पाम तेलको निर्यात ४ अर्ब ३२ करोड ३८ लाख ३५ हजार रुपैयाँ बराबर रहेको छ भने सूर्यमुखी तथा कुसुमको तेल ६ अर्ब २० करोड २३ लाख ६५ हजार रुपैयाँ बराबर निर्यात भएको छ ।
जुट तथा जुटजन्य सामग्रीको निर्यात पनि उल्लेख्य रहेको छ । यस अवधिमा ४ अर्ब ३५ करोड ६२ लाख ९५ हजार रुपैयाँ बराबरको जुट निर्यात भएको छ भने करिब ६ करोड ९१ लाख वर्गमिटर उत्पादन विदेश पठाइएको छ ।
औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग हुने धागोको निर्यात पनि वृद्धि भएको देखिन्छ । दुवै प्रकारका धागो मिलाएर झन्डै ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै, गद्दा तथा प्याडिङमा प्रयोग हुने ‘फेल्ट’ को निर्यात ३ अर्ब ५७ करोड ८६ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
फलफूल तथा तरकारीको रस (जूस) ले पनि निर्यातमा नयाँ सम्भावना देखाएको छ । ९ महिनामा ३ अर्ब ४ करोड ४५ लाख ८६ हजार रुपैयाँ बराबरको शुद्ध जूस निर्यात भएको छ, जुन भारतीय बजारमा लोकप्रिय मानिन्छ ।
समग्र तथ्यांकले नेपालको निर्यात केही सीमित वस्तुमा केन्द्रित भए पनि हस्तकलाजन्य उत्पादन र कृषि उपजले अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान बनाउँदै गएको देखाएको छ । अर्थविद्हरूका अनुसार स्वदेशी उत्पादनमा थप लगानी र मूल्य अभिवृद्धि बढाउन सके निर्यात अझै विस्तार हुने सम्भावना बलियो छ ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0