तरलता व्यवस्थापनमा सक्रियता

Apr 22, 2026 - 12:50
 0  0
तरलता व्यवस्थापनमा सक्रियता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अत्यधिक थुप्रिँदै गएपछि केन्द्रीय बैंकले आज ४० अर्ब रुपैयाँ बजारबाट तान्ने प्रक्रिया अघि बढाएको हो । कर्जाको माग अपेक्षित रूपमा नबढेपछि बैंकहरू करिब ३ प्रतिशत जस्तो न्यून ब्याजदरमै राष्ट्र बैंकमा रकम राख्न तयार देखिएका छन् ।

वित्तीय स्थायित्व कायम राख्न र ब्याजदरमा हुने उतारचढावलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत बजारबाट तरलता व्यवस्थापन गर्दै आएको छ ।

यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन सक्नेछन् । आज अनलाइन बोलकबोल प्रणालीमार्फत निक्षेप संकलनको आह्वान गरिएको छ, जहाँ ब्याजदर निर्धारण प्रतिस्पर्धात्मक रूपमा हुने व्यवस्था गरिएको छ ।

यस दीर्घकालीन निक्षेप संकलनका लागि न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म प्रस्ताव गर्न सकिनेछ । आवेदन गर्दा ५ करोड रुपैयाँले भाग जाने गरी रकम प्रस्ताव गर्नुपर्ने सर्त तोकिएको छ ।

राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकहरूलाई प्राथमिकतामा राखी रकम बाँडफाँट गर्ने जनाएको छ । १६० दिनको अवधिका लागि खिचिने यो रकमको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २१ गते गरिने केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।

यो कदमलाई वित्तीय प्रणालीमा तरलता सन्तुलन कायम गर्दै बजार स्थायित्वतर्फको सकारात्मक प्रयासका रूपमा हेरिएको छ ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0