स्वास्थ्य सेवा विस्तारमा जोड
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिनमा पनि सरकारी अस्पतालको ओपिडी सेवा सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।
उनले हाल बिदाको दिन ओपिडी सेवा बन्द हुँदा बिरामीहरूलाई ठूलो सास्ती भोग्नुपरेको उल्लेख गर्दै यसले सर्वसुलभ स्वास्थ्य सेवामा पहुँच घटाएको बताएका छन्। साथै, बिरामीहरू निजी अस्पतालतर्फ जान बाध्य हुँदा आर्थिक भार समेत बढेको उनको भनाइ छ।
महामन्त्री पौडेलले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा स्वास्थ्य सेवामा सुधारका विभिन्न पहल सुरु गरिएको स्मरण गराएका छन्। ती सुधारअन्तर्गत बिदाका दिन पनि सेवा निरन्तर राख्न अतिरिक्त समय काम गर्ने चिकित्सकलाई प्रोत्साहन दिने व्यवस्था, ओपिडी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने तथा सेवा समय विस्तार गर्ने नीति अघि बढाइएको उनले बताए।
त्यसैगरी, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने व्यवस्था र अस्पतालमा जनशक्ति अभाव पूर्ति गर्न नयाँ कर्मचारी थप्ने प्रक्रिया पनि अघि बढाइएको उनले जानकारी दिए।
पौडेलले सरकारी अस्पतालमार्फत सहज र गुणस्तरीय सेवा विस्तार गर्दै निजी क्षेत्रसँग सहकार्य गर्न सके मात्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बन्न सक्ने बताए। उनले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सेवा घटाउने होइन, विस्तार गर्ने नीति आवश्यक रहेकोमा जोड दिएका छन्।
सरकारी अस्पतालको सेवा सुधार र निरन्तर सञ्चालनबारे उठाइएको यो सुझावले स्वास्थ्य सेवाको पहुँच विस्तारमा थप बहस सुरु भएको छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0